Live

कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग

सुर्खेत, साउन २६-  कालिका लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय छिन्चुको आयोजनामा भेरीगंगा नगरपालिका वडा नम्बर १०, तल्लो थानिचौरस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत ५३ जना जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा कालिका लघुवित्त सस्थाले विद्यार्थी तथा उपस्थित अभिभावकहरूलाई बचत, कर्जा, वित्तीय अनुशासन तथा वित्तीय सेवाको सदुपयोगसम्बन्धी जानकारी प्रदान गर्दै वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि वडाअध्यक्ष वीरबहादुर बस्नेतले कालिका लघुवित्त वित्तीय संस्था लि.ले कर्जा तथा वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक क्षेत्रमा समेत योगदान पु¥याएकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक डिल्लीराम घर्तीले विद्यालयमा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको उल्लेखनीय संख्या रहेको र संस्थाले शैक्षिक सामग्री वितरण गरी विद्यार्थीहरूको अध्ययनमा सहयोग पु¥याएकोमा संस्थाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन कालिका लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय छिन्चुका शाखा प्रबन्धक  चेतनबहादुर राना क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रमले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पु¥याउनुका साथै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको शाखा कार्यालय छिन्चुका शाखा प्रमुख चेतन बहादुर राना क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता कालिका लघुवित्त वित्तीय संस्था लि., अनुगमन कार्यालय वीरेन्द्रनगर, सुर्खेतका अनुगमन अधिकृत मोहन न्यौपानेले गर्नुभयो भने कार्यक्रम  प्रमुख अतिथिका रूपमा भेरीगंगा नगरपालिका १० का वडाअध्यक्ष वीरबहादुर बस्नेत, विशेष अतिथिका रूपमा शिक्षक–अभिभावक संघका अध्यक्ष रामबहादुर बि.क., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर राना तथा विद्यालयका प्रधानाध्यापक डिल्लीराम घर्तीको उपस्थिति रहेको थियो । कार्यक्रममा वीरेन्द्रनगर शाखाका शाखा प्रमुख दीपक भुसाल, शाखा कार्यालय छिन्चुका कर्मचारीहरू, विद्यालयका शिक्षक–शिक्षिकाहरू तथा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
↑