Live

गुर्भाकोटको गुमीस्थित गुर्भाकोट बहुप्राविधिक शिक्षालयमा नर्सिङ अध्ययन सुरु

गुर्भाकोट, कार्तिक १४ - गुर्भाकोट नगरपालिका वडा नम्बर १३ गुमीस्थित गुर्भाकोट बहुप्राविधिक शिक्षालयबाट प्रमाणपत्र तह नर्सिङ्ग अध्ययन सूरु भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक सिटिभिटीको आंगिक कलेज गुर्भाकोट बहुप्राविधिक शिक्षालयले पहिलो पटक पिसिएल नर्सिङ्ग अध्ययन सूरु गरेको हो । कार्तिक ११ गतेबाट शिक्षालयमा नर्सिङ्ग अध्ययन सूरु भएको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले बताउनुभयो ।

पाँच वर्षदेखि निरन्तर गरिएको प्रयास अन्ततः सफल हुँदै गुर्भाकोट नगरपालिका १३, गुमीमा प्रविणता तह नर्सिङ अध्ययन कार्यक्रम सुरु भएको हो । बार्षिक ४० विद्यार्थी कोटा अनुसार ४० जना विद्यार्थीले पहिलो बर्षमा भर्ना भई अध्ययन सूरु गरेका छन् । यो एउटा महत्त्वपूर्ण तथा गुर्भाकोटले गर्व गर्न सक्ने उद्देश्य प्राप्त भएको छ,” नगर प्रमुख पुनले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन् । उनका अनुसार, हाल सुरु भएको नर्सिङ कार्यक्रमअन्तर्गत ४० कोटामध्ये ९० प्रतिशत विद्यार्थी कर्णाली प्रदेशकै स्थानीय बहिनी–भाइहरू हुन्, जसले अब आफ्नो भूमिमै बसेर नर्सिङ अध्ययन गर्न सक्ने अवसर प्राप्त गरेका छन् । कार्यक्रमको शुभारम्भसँगै विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । यस अवसरमा नगर प्रमुख हस्त पुन स्वयं उपस्थित रहेर विद्यार्थीसँग आत्मीयता बाँडेका थिए ।

यो अवसर साकार बनाउन उनले विशेष धन्यवाद ज्ञापन गर्दै भनेका छन्, “यो सपना साकार बनाउन सहयोग गर्नुहुने नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का ज्यु, सिटिभिटी केन्द्रका प्रदेश प्रमुख, शिक्षालय प्रमुख प्रेम बासकोटा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, तत्कालीन चिकित्सा सेवा आयोगका सचिव कृष्ण प्रसाद काप्री, प्रदेश अस्पताल सुर्खेत, समाजसेवी गौतम बी.सी, वडाअध्यक्ष, आनन्द माविर, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र समाजसेवी सबैप्रति हार्दिक आभार प्रकट गर्दछु । ” यो शिक्षालय कर्णाली प्रदेशमा पहिलो पटक पिसिएल नर्सिङ्ग अध्ययापन गराउने निकाय बनेको छ । कर्णालीकै भूमिमा गुणस्तरीय नर्सिङ शिक्षा सम्भव बनाउँदै स्थानीय युवतीहरूको भविष्यमा नयाँ उज्यालो थपेको छ ।

प्रतिकृया दिनुहोस
↑