Live

जाजरकोटबाट प्रतिनिधीसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार सिफारिस सम्पन्न

जाजरकोट, पुष ११ -सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस भन्ने नारासहित आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस जाजरकोटले विभिन्न तहका जनप्रतिनिधि पदहरूको लागि उम्मेदवारी सिफारिस सार्वजनिक गरेको छ । जिल्लाभरिका संगठन, भातृसंस्था र नेताहरूबीच व्यापक छलफल तथा समन्वयपछि तयार गरिएको यस सिफारिस सूचीलाई आगामी नेतृत्व छनोटको महत्वपूर्ण आधार मानिएको छ ।

जाजरकोटबाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ । पार्टीभित्र सशक्त संगठन निर्माणमा सक्रिय नेताहरू— खडक बहादुर बुढा, मैना कार्की, मुक्ति प्रसाद आचार्य, महेन्द्र बहादुर शाह र रामजंग शाह—लाई आगामी निर्वाचनमा योग्य दाबेदारका रूपमा अगाडि सारिएको छ । यी सबै पात्रहरू आन्तरिक लोकतन्त्र, विकास र सुशासनका विषयमा सक्रिय गतिविधि गर्दै आएका नेता मानिन्छन् । यस्तै, प्रतिनिधि सभा समानुपातिक तर्फ पाँच जनाको नाम प्रस्ताव गरिएको छ । रामछाया शाही, हजारी नेपाली बादी, भूमिलाल रोकाया, जनक बादी र बिष्णु गिरीलाई समावेशी प्रतिनिधित्व, भौगोलिक सन्तुलन र विविध समुदायको आवाज सुनिश्चित गर्ने उद्देश्यले सूचीमा राखिएको बताइन्छ । राष्ट्रियसभाका लागि भने तीन जना उम्मेदवार सिफारिस भएको छ । दिपकजंग शाह, खम्बजंग शाह र गीता शाही कांग्रेसको दीर्घ राजनीतिक अनुभव, संगठन सुदृढीकरण र संघीय संरचनामा प्रभावकारी उपस्थितिका आधारमा अग्रपंक्तिमा परेका छन् ।

कांग्रेसका नेताहरूका अनुसार यो सिफारिस सूचीले सबैलाई समेट्ने र सबैलाई जोड्ने अभियानलाई बलियो बनाउनेछ । पार्टीभित्रको प्रतिस्पर्धा, अनुभवी नेतृत्व र नयाँ पुस्ताको ऊर्जा सहित जाजरकोट कांग्रेस आगामी निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस
↑