Live

चर्चित दोहोरी गायक धनराज चुनाराको पहिलो कौडा गीत सार्वजनिक

सुर्खेत, पुष २९- विगत २० बर्षदेखि नेपाली लोक दोहोरी गायन क्षेत्रमा चर्चित गीतहरु गाएर चर्चामा रहेका गायक धनराज चुनाराले सांगीतिक क्षेत्रमा लागेकै पहिलो पटक मौलिक कौडा गीत सार्वजनिक गर्नुभएको छ ।  धनराज चुनारा र गायिका टिका पुनको स्वर र शब्द÷संगीत अशिमचन्द्र विश्वकर्माको रहेको उक्त मौलिक कौडा गीत आफ्नो २० बर्ष बढी गायन क्षेत्रमा पहिलो पटक गाएको चुनाराको भनाई छ । सुर्खेती लोकप्रिय गायकद्वय धनराज चुनारा र टीका पुनको स्वरमा कौडा गीत ‘आकाशमा तारा र जुन छन्’ सार्वजनिक भएको हो । 


असिम चन्द्र विश्वकर्माको शब्द र संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।  गीतको मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गरेका छन् भने रेकर्डिस्ट राज खड्का रहेका छन् । कौडा गीत नेपालमा गुरुङ, मगर र दुरा, दरै समुदायको परम्पराअनुसारको लोकप्रिय नाच हो । गीतको भिडियोमा शेखर घर्ती मगर र कुसुम राईले मुख्य भूमिका निर्वाह गरेका छन् । एकिन्द्र सरशंकरको कथा र निर्देशन रहेको भिडियोमा सुमन सुनार, दीपेन्द्र केसी र विश्व मुखिया अतिथि कलाकारका रूपमा देखिएका छन् ।  भिडियोको छायांकन नबराज उप्रेतीले गरेका हुन् भने पोस्टर डिजाइन उत्तम कुमार कार्की (सुमिशा सुमिश क्रिएसन) ले गरेका छन् ।  भिडियोको भिजुअल एडिट असिम चन्द्र विश्वकर्माले गरेका हुन् भने कलर मिलन बिश्वकर्माले गरेका छन् । मेकअप सबिना गुरुङले गरेकी हुन् । भिडियोको पोस्ट प्रोडक्सन रेड मुन पोस्ट प्रोडक्सनले गरेको छ । गायक धनराज चुनाराले यसअघि थुप्रै गीतहरू बजारमा ल्याइसकेका छन् । जसमा ‘सालैको पातैमा’, ‘घाँसै काट्ने डाली छानेर’, ‘जवानीको मात’ आदि उनका चर्चित गीतमध्ये पर्छन् ।  हालसालै सार्वजनिक गरिएको ‘सालैको पातैमा’ बोलको गीतले निकै चर्चा पाएको थियो । गाउँघरका मौलिक भाकालाई टपक्क टिपेर आफ्नो गीतमार्फत मनोरञ्जन दिन सक्ने खुबी भएका गायक हुन् धनराज चुनारा, विशेष गरी मध्यपश्चिमका सुर्खेत, सल्यान, रुकुम लगायतका जिल्लाहरूमा प्रचलित झ्याउरे भाका, लोक भाका, टप्पा जस्ता मौलिक गीत संगीतको जर्गेना गरिरहेका गायक धनराजले फेरि कौडा गीत ‘आकाशमा तारा र जुन छन्’ बजारमा ल्याएका छन् । 


कौडा नाच तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन, नवलपरासी आदि जिल्लाहरूका गुरुङ, मगर र दुरा, दरै समुदायमा माघे सक्रान्तीदेखि बैशाख पूर्णिमासम्म नचाइने गर्छ । यो नाचमा केटाहरूले गीत गाएर खैजडी, मुजुरा बजाएर केटीहरूलाई नचाउने गर्छन् ।  कौडा नाचमा पहिले श्री कृष्णचरित्र र रामायणका गीतहरू गाइन्थ्यो भने हाल ती धार्मिक गीतहरू प्रायः लोपोन्मुख हुँदै गएको पाइन्छ। तर कौडा नाचको बन्धन लिँदा आकाश पातालदेखिका सम्पूर्ण देवीदेवताहरूको नाममा बन्धन गीत गाइन्छ ।
 

प्रतिकृया दिनुहोस
↑